Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र 2

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ।
2किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।
3अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ।
4तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ। पापको क्षमा
5म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
6यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ।
7अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।
8यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु।
9मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो।
10तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
11शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ। नयाँ करारका सेवकहरू
12जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो।
13मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
14तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ।
15किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ।
16नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?
17किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.