Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र जनहरूलाई:
2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। सान्त्वनाका परमेश्‍वर
3हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।
4उहाँले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
5किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
6यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ।
7अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ।
8हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ।
9निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो।
10उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ।
11तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्। पावलको योजनामा हेरफेर
12अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौँ।
13किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि
14जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ।
15मलाई यस विषयमा निश्‍चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ।
16म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ।
17के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?
18तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन।
19म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ।
20किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ।
21अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ।
22उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
23तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
24हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.