Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

सपन्याहको भविष्यवाणी 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो: याहवेहको दिनमा सारा पृथ्वीको न्याय
2“म पृथ्वीको सतहबाट सबै थोक नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
3“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; म आकाशका पक्षीहरू र समुद्रका माछाहरूलाई नाश गर्नेछु। दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।” “अनि म सबै मानव-जातिलाई पृथ्वीको सतहबाट मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
4“म यहूदाको विरुद्धमा र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;
5तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू र मोलेख देवताको नाममा पनि शपथ खानेहरू,
6याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; अनि याहवेहको खोजी नगर्नेहरू, र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”
7प्रभु याहवेहको सामु चुपचाप बस; किनकि याहवेहको दिन नजिकै छ। याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।
8“याहवेहको बलिदानको दिन, म अगुवाहरू र राजाका छोराहरू; अनि विदेशी कपडा लगाउनेहरू सबैलाई दण्ड दिनेछु।
9त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु।
10“त्यस दिन” याहवेह भन्‍नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।
11तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।
12त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।
13तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”
14याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
15त्यो दिन क्रोधको दिन हुनेछ— सङ्कष्‍ट र वेदनाको दिन, कष्‍ट र सर्वनाशको दिन, अन्धकार र निराशाको दिन, बादल र घोर अन्धकारको दिन।
16सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा तुरही र लडाइँको आवाज सुनिने दिन।
17“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
18तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, न त तिनीहरूका सुनले, न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” उहाँको डाहको आगोमा सारा संसार भस्म पारिनेछ; किनकि यस पृथ्वीमा बसोबास गर्ने सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.