Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

जकरियाको भविष्यवाणी 5

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!
2स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।”
3अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्।
4सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ ” डालोमा एउटी स्त्री
5तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”
6मैले सोधेँ, “यो के हो?” तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।”
7तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!
8तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।
9तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।
10मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?”
11तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.