Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यूहन्‍नालाई भएको प्रकाश 7

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए।
2तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने,
3“जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”
4तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
5यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई,
6आशेरको कुलबाट 12,000 लाई, नप्‍तालीको कुलबाट 12,000 लाई, मनश्शेको कुलबाट 12,000 लाई,
7शिमियोनको कुलबाट 12,000 लाई, लेवीको कुलबाट 12,000 लाई, इस्साखारको कुलबाट 12,000 लाई,
8जबूलूनको कुलबाट 12,000 लाई, योसेफको कुलबाट 12,000 लाई, बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो। सेतो वस्त्र लगाएका ठूलो भीड
9त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।
10तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
11सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,
12“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्। आमेन!”
13तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?”
14तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
15यसकारण, “तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्‍नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
17किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’ ‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.