Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

भजनसंग्रहको पुस्तक 72

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1हे परमेश्‍वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
2राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
3पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
4उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्।
5जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
6तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
7राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
8राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
9राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्।
10तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले उनलाई सलामी ल्याऊन्; शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाऊन्।
11सबै राजाहरू उनको अगाडि निहुरिऊन्; र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
12किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन।
13दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्, र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।
14उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ।
15तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्।
16देशभरि नै प्रशस्त अन्‍न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
17तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्। तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; र तिनलाई धन्यका भन्‍नेछन्।
18इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
19उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्। आमेन! आमेन!
20यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.