Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

भजनसंग्रहको पुस्तक 64

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1हे मेरा परमेश्‍वर, मैले गुनासो गर्दा मेरो सोर सुन्‍नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!
2दुष्‍टहरूको गुप्‍त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!
3तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्, र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।
4तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्।
5तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?”
6तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्‍चै धूर्त छ।
7तर परमेश्‍वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्‍नुहुनेछ; तिनीहरू अचानक घाइते हुनेछन्।
8उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ, र तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ; तिनीहरूलाई देख्ने सबैले गिल्‍ला गर्दै टाउको हल्‍लाउनेछन्।
9सबै मानिसहरू परमेश्‍वरसँग डराउनेछन्; तिनीहरूले परमेश्‍वरको कामको घोषणा गर्नेछन्; र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।
10धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्, र उहाँमा शरण लिनेछन्; साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.