Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

भजनसंग्रहको पुस्तक 50

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।
2सुन्दरतामा सियोनबाट सिद्ध, परमेश्‍वर प्रकाशमान् हुनुभएको छ।
3हाम्रा परमेश्‍वर आउनुहुन्छ, र शान्त बस्‍नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।
4आफ्ना मानिसहरूका न्याय गर्न परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:
5“मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ, जसले बलिद्वारा मसँग करार बाँधेका छन्।”
6स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ; किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ। सेला
7“हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ।
8म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।
9मलाई तेरो गोठबाट साँढेको, वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन;
10किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्, र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्।
11म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु; भूमिका सबै प्राणीहरू मेरै हुन्।
12यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।
13के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र?
14“परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्।
15सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”
16तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?
17मेरो शिक्षालाई तैँले घृणा गर्छस्, र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्।
18जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्; व्यभिचारीहरूसँग सहभागी हुन्छस्।
19तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।
20तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।
21तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
22“हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:
23धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्, जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.