Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

भजनसंग्रहको पुस्तक 27

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?
2जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।
3सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।
4याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
5किनकि सङ्कष्‍टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।
6तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।
7हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।
8मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।
9मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।
10मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ।
11हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।
12मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्।
13म यसमा अझ विश्‍वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।
14याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.