Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

भजनसंग्रहको पुस्तक 132

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
2तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:
3“म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ, वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,
4म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;
5जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
6हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ:
7“हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,
8‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।
9तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
10आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!
11याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।
12यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।”
13किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;
14“यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।
15प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।
16त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
17“यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।
18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.