Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

फिलिप्पीका मण्डलीलाई पावलको पत्र 4

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु।
3अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्। अन्तिम अर्तीहरू
4प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
5तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
6कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्।
7तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।
8अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
9जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ। भेटीको लागि धन्यवाद
10प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ।
11म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु।
12म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु।
13उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
14मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो।
15यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन।
16किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।
17मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु।
18मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ।
19र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।
20हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। अन्तिम अभिवादन
21ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.