Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

गन्तीको पुस्तक 4

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:
2“लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
3भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”
4भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ।
5जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।
6त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
7उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।
8टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
9तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्।
10त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्।
11सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।
12तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्।
13तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्।
14त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्‍ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्।
15हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्।
16“पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”
17याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
18“कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।
19तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्।
20तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।” गेर्शोनीहरू
21याहवेहले मोशालाई भन्‍नुभयो,
22“गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू।
23भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”
24गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो:
25“तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,
26समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्।
27तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू।
28भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्। मरारीहरू
29“मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
30भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरूको गन्ती गर्नू।
31भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;
32अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू।
33मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।” लेवी वंशहरूको गन्ती
34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे।
35भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू,
36तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए।
37भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए।
38गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
39भेट हुने पालको कामका निम्ति सेवा गर्न आएकाहरू, जो तीस वर्षदेखि पचास वर्ष उमेर भएका सबै मानिसहरू,
40तिनका वंश र परिवारअनुसार गनिएकाहरू 2,630 थिए।
41भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए।
42मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
43भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू,
44तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए।
45मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए।
46यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए।
47भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका
48संख्या 8,580 थियो।
49याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए। यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार गन्ती गरेका थिए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.