Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

गन्तीको पुस्तक 16

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
2अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।
3तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्‍च तुल्याउनुहुन्छ?”
4जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे।
5त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्‍नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ।
6हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,
7अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्‍नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!”
8मोशाले कोरहलाई यो पनि भने, “हे लेवीहरू हो, अब सुन!
9इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्‍त भएन र?
10उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ।
11तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?”
12त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ!
13के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्‍न चाहनुहुन्छ?
14अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”
15तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”
16मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्।
17हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”
18यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए।
19जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्‍यो।
20याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,
21“यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्‍त पार्न सकूँ।”
22तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्‍वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्‍वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?”
23त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो,
24“सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”
25मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे।
26तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्‍ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”
27यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए।
28तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्‍नेछौ:
29यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन।
30तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्‍नेछौ।”
31मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो।
32अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।
33तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए।
34तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्‍ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे।
35अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्‍यो।
36याहवेहले मोशालाई भन्‍नुभयो,
37“पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।
38आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।”
39यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए।
40याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ।
41भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्‍यौ।”
42तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो।
43तब मोशा र हारून भेट हुने पालको सामु गए।
44अनि याहवेहले मोशालाई भन्‍नुभयो,
45“तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे।
46त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्‍चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।”
47यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्‍चित गरे।
48हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो।
49तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए।
50त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.