Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

नहेम्याहको पुस्तक 6

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1जब सन्बलत, तोबियाह, अरबी गेशेम र हाम्रा अरू शत्रुहरूकहाँ मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै दरार पनि नभएको खबर पुग्यो—यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा ढोकाहरू लगाएको थिइनँ।
2सन्बलत र गेशेमले मलाई यो खबर पठाए: “आऊ, हामी ओनोको बेँसीमा एउटा गाउँमा एकसाथ भेला होऔँ।” तर तिनीहरूले मलाई हानि गर्ने षड्यन्त्र गर्दैथिए।
3यसैकारण मैले तिनीहरूकहाँ यो समाचार पठाएँ: “म एउटा महान् काम सञ्चालन गरिरहेको छु, र म त्यहाँ आउन सक्दिनँ। मैले काम छोडेर तपाईंहरूकहाँ त्यहाँ आएर यो काम किन रोकिने?”
4तिनीहरूले मकहाँ चार पटकसम्म त्यही समाचार पठाए, र हरेक पटक मैले तिनीहरूलाई त्यही जवाफ दिएँ।
5त्यसपछि पाँचौँ पटकमा सन्बलतले आफ्ना एक विशेष दूत मकहाँ त्यही समाचारको साथमा पठाए। अनि त्यसको हातमा एउटा बन्द नगरिएको पत्र थियो,
6जुन पत्रमा यसरी लेखिएको थियो: “जातिहरूको बीचमा यस्तो खबर फैलिएको छ, र गेशेमले यो सत्य हो भनी भन्दैछन्; तपाईं र यहूदीहरूले राजद्रोहको षड्यन्त्र रच्दै हुनुहुन्छ। यसैकारण तपाईंहरूले पर्खाल पुनर्निर्माण गरिरहनुभएको छ। यसबाहेक यस खबरअनुसार तपाईंचाहिँ राजा हुन लाग्नुभएको छ रे।
7अनि तपाईंको विषयमा: ‘यहूदामा एउटा राजा छन्!’ भनी यरूशलेममा घोषणा गर्नलाई अगमवक्ताहरू नियुक्त गर्नुभएको छ रे। यसबाहेक अब यो खबर राजालाई पठाइनेछ; यसकारण आउनुहोस्, हामी मिलेर कुराकानी गरौँ।”
8मैले उसलाई यो जवाफ पठाइदिएँ: “तपाईंले भनेझैँ केही पनि भएको छैन; तपाईंले यो कुरा आफ्नै मनमा मात्र उब्जाउनुभएको छ।”
9तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्‍ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”
10एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्‍वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।”
11तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!”
12तिनलाई परमेश्‍वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्‍ने कुरा मैले थाहा गरेँ।
13तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्।
14हे मेरा परमेश्‍वर, तोबियाह र सन्बलतले जे गरेका छन्, सो सम्झना राख्नुहोस्; मलाई डर देखाउने चेष्‍टा गरिरहने अगमवादिनी नोअदिया साथै अरू सबै अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।
15यसरी एलुल महिनाको पच्‍चीसौँ दिनमा, जम्मा बाउन्‍न दिनमा पर्खालको निर्माण सिद्धियो। पर्खाल निर्माणको समाप्‍ति
16जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्‍वरको सहायताले गरिएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा गरे।
17अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए।
18तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्‍लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।
19यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.