Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

लूकाद्वारा लेखिएको सुसमाचार 21

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।
2उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो।
3उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।
4अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।” मन्दिरको विनाश र जगत्‌को अन्त्यका चिन्हहरू
5जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्‍नुभयो,
6“यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
7तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्‍ने चिन्ह के हुनेछ?”
8उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
9जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
10त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
11धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
12“तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ।
13यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ।
14तर आफ्नो बचाउका लागि के भन्‍ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्‍चय गर।
15किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
16तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्।
17अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्।
18तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन।
19स्थिर भई खडा रह्‍यौ भने तिमीहरूले जीवन प्राप्‍त गर्नेछौ।
20“जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ।
21तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्।
22किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।
23हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ।
24तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
25“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र व्याकुलमा पर्नेछन्।
26संसारमा के आइपर्नेछ भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
27त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।
28जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।”
29उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।
30जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।
31त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनी जान।
32“म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन।
33आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
34“होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्‍कासि आइपर्ला।
35किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ।
36तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
37येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,
38सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई बिहानै मन्दिरमा आउँथे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.