Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

लेवीको पुस्तक 9

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए।
2तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू।
3त्यसपछि इस्राएलीहरूलाई भन्‍नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको।
4अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्‍नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ”
5तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए।
6तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।”
7मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्।”
8यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे।
9हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए।
10वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए।
11मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए।
12तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के।
13हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए।
14तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए।
15त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए।
16तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए।
17त्यसपछि तिनले अन्‍नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए।
18तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के।
19तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण;
20तिनीहरूले ह्‍याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए।
21हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
22तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले।
23त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो।
24याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.