Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

लेवीको पुस्तक 7

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1“ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ:
2दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्।
3त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो,
4कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ।
5पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो।
6पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ।
7“ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो।
8कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ।
9चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो।
10जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो। मेलबलि
11“ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्:
12“ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्।
13त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्।
14त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो।
15धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्।
16“ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ।
17तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्।
18यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ।
19“ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्।
20तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।
21यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ” बोसो र रगत खान निषेध
22याहवेहले मोशालाई भन्‍नुभयो,
23“इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू।
24प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू।
25जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
26तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू।
27जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ” पुजारीहरूका भाग
28याहवेहले मोशालाई भन्‍नुभयो,
29“इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्।
30त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्।
31पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्‍याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ।
32दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू।
33हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ।
34मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ”
35याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो।
36तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो।
37यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्,
38जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.