Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

विलापको पुस्तक 3

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ।
2उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ;
3वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।
4उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
5उहाँले मलाई तितोपना र कष्‍टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।
6उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ।
7म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।
8मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।
9उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।
10आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै
11उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।
12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।
13उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो।
14म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु।
15उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो।
16उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।
17मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु।
18यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”
19म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।
20म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।
21तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ:
22याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
23हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ।
24म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”
25याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
26याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
27आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ।
28त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।
29त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्।
30उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्।
31किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
32उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ।
33किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न।
34यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा,
35सर्वोच्‍च परमेश्‍वरको सामु मानिसको अधिकार खोसिँदा,
36र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?
37प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?
38के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?
39जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु?
40हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ।
41हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्‍वरतिर उचालौँ र भनौँ:
42“हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन।
43“तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।
44तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।
45तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।
46“हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।
47हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।”
48मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।
49मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ,
50जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न।
51मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।
52मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे।
53तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;
54पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।
55हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ।
56तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!”
57मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा!”
58हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।
59हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्!
60तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।
61हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;
62मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ।
63तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्।
64हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।
65तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!
66हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.