Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यहोशूको पुस्तक 3

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1बिहान सबेरै यहोशू र सारा इस्राएलीहरू शित्तीम छाडेर यर्दनमा गए। अनि त्यहाँ तिनीहरूले नदी पार गर्न अगि छाउनी हालेर बास बसे।
2तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए।
3अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू।
4तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्‍नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।”
5यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले आफूलाई पवित्र बनाओ; किनकि भोलि याहवेहले तिमीहरूका बीचमा अचम्मको काम गर्नुहुनेछ।”
6यहोशूले पुजारीहरूलाई भने, “साक्षी पाटीको सन्दुक लिएर मानिसहरूका अगि-अगि पारिपट्टि जाओ।” यसकारण तिनीहरूले सन्दुकलाई उठाए, र मानिसहरूका अगि-अगि हिँडे।
7अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई सबै इस्राएलीहरूका दृष्‍टिमा उच्‍च पार्नेछु। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि छु भनी तिनीहरूले जानून्।
8साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई तैँले यस्तो आज्ञा दिनू: ‘जब तिमीहरू यर्दन नदीको किनारमा आइपुग्छौ, तब यर्दनको पानीमा जानू, र नदीमा खडा रहनू।’ ”
9यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्‍वरको वचन सुन।
10जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्‍चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ।
11हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ।
12अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान।
13अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।”
14यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए।
15त्यो समय अन्‍नको कटनीको समय थियो। यो समय यर्दनचाहिँ पानीले भरिएको थियो। तापनि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीमा पुगेर तिनीहरूका खुट्टाले पानीको किनार छुनेबित्तिकै,
16माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे।
17सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.