Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यहोशूको पुस्तक 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्‍नुभयो:
2“मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
3मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।
4तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्‍चिममा भूमध्य सागरसम्म हुनेछ।
5तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु।
6“बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
7“बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
8व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्‍नति गर्नेछस् र सफलता पाउनेछस्।
9के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।”
10यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:
11“छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ ”
12तर रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई चाहिँ यहोशूले भने,
13“याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’
14तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्‍न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ।
15याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।”
16तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।
17जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।
18तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.