Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इयोबको पुस्तक 8

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2“कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्।
3के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्‌ले ठिक कुरालाई बिगार्नुहुन्छ र?
4जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो।
5तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्‌सँग बिन्ती गर्नुभयो भने
6यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने, परमेश्‍वर आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।
7तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ।
8“पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्,
9किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्।
10के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र?
11के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?
12तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।
13परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ।
14तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ।
15तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।
16तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्;
17त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ।
18तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’
19निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।
20“निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न अथवा दुष्‍ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्‍न।
21उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ।
22तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्; र दुष्‍टका पालहरू रहनेछैनन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.