Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इयोबको पुस्तक 33

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1“तर अब, हे इयोब, मेरो कुरा सुन्‍नुहोस्; मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्।
2मैले मेरो मुख खोल्नै लागेको छु; मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्।
3मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्।
4परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ।
5यदि तपाईंहरूले सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्; तपाईंहरू उठ्नुहोस् र आफ्ना तर्कहरू मेरो सामु पेस गर्नुहोस्।
6परमेश्‍वरको दृष्‍टिमा म पनि तपाईंहरूजस्तै छु; म पनि माटोबाटै बनाइएको हुँ।
7तपाईंहरू मसँग डराउनुपर्दैन, न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्।
8“तर तपाईंहरूले मैले सुन्‍ने गरी भन्‍नुभएको छ— मैले ती शब्दहरू सुनेको छु—
9‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; म शुद्ध छु; र पापरहित छु।
10तर पनि परमेश्‍वरले मेरो गल्ती भेट्टाउनुभयो; उहाँले मलाई आफ्नो शत्रुझैँ ठान्‍नुहुन्छ।
11उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’
12“तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्‍न; किनकि परमेश्‍वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ।
13तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो?
14किनकि परमेश्‍वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले, र पछि अर्कै प्रकारले— यद्यपि त्यो कसैले बुझ्नै सक्दैन।
15सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;
16तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ,
17मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न,
18तिनीहरूलाई खाडलबाट जोगाउन, तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ।
19“अथवा कसैलाई लगातार हड्डी दुख्‍ने रोगको साथ पीडाको ओछ्यानमा ताडना दिनुहुन्छ;
20त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ।
21तिनीहरूको शरीरको मासु सुकेर जान्छ, अनि तिनीहरूका एक समयमा नदेखिएका हड्डीहरू अब देखिन थाल्छन्।
22तिनीहरू खाडलको नजिकै पुग्छन्, र तिनीहरूको जीवन मृत्युको दूतकहाँ पुग्छन्।
23तरै पनि यदि तिनीहरूका पक्षमा एक जना स्वर्गदूत, हजारौँबाट एक जना दूत छन् भने, जसलाई तिनीहरूका निम्ति कसरी धर्मी हुने भनेर सिकाउन पठाइए भने,
24अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु—
25तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्—
26तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ।
27तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; तर मैले भोग्नुपर्ने सजाय पाइनँ।
28परमेश्‍वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’
29“परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीनपल्टसम्म—
30तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्।
31“त्यसकारण हे इयोब, सुन्‍नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; चुप लागेर बस्‍नुहोस्, र म बोल्नेछु।
32यदि तपाईंलाई केही भन्‍न मन लागेको छ भने मलाई भन्‍नुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु।
33तर यदि छैन भने मेरो कुरा सुन्‍नुहोस्; चुप लागेर बस्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.