Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इयोबको पुस्तक 30

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1“तर अहिले त मभन्दा साना उमेरकाहरूले मेरो हाँसो उडाउँछन्, जसका बुबाहरूलाई मेरा भेडाहरूलाई हेर्ने कुकुरहरूसँग राख्न पनि अयोग्य ठान्थेँ।
2तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले, मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?
3अभाव र भोकले दुब्लाएर, तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे, र उजाड ठाउँतिर डुलिहिँड्थे।
4तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।
5तिनीहरू मानव समाजबाट धपाइएका थिए, चोरहरूलाई कराएर लखेटेजस्तै तिनीहरूलाई लखेटिन्थ्यो।
6तिनीहरू खोलाका सुक्खा बगरहरू, जमिनका दुलाहरू र चट्टानका चिराहरूमा बस्‍न बाध्य हुन्थ्यो।
7तिनीहरू झाडीहरूमा कराई हिँड्थे र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।
8तिनीहरू मूर्ख र बेनामका सन्तानहरू; तिनीहरू देशबाट निकालिएकाहरू थिए।
9“तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्; म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।
10तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।
11अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ; तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।
12मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।
13तिनीहरूले मेरो बाटो भत्काउँछन्; तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर मलाई नाश गर्न सफल हुन्छन्।
14तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।
15मलाई त्रासले छाएको छ; मेरो प्रतिष्‍ठा बतासले उडाएजस्तै भएको छ, मेरो सुरक्षा बादलजस्तै हराएको छ।
16“र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।
17रातले मेरा हड्डीहरूलाई छेड्छ; मलाई पिरोल्‍ने पीडा कहिल्यै थामिँदैन।
18परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ; उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।
19उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ, अनि म धुलो र खरानीजस्तै भएको छु।
20“हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न; म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्‍न।
21तपाईं मसँग निर्दयी हुनुभएको छ; आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।
22तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ; तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।
23म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ, त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।
24“पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा निश्‍चय नै त्यसमाथि कसैले हात उठाउँदैन।
25के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?
26तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
27मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; कष्‍टका दिनहरूले मेरो सामना गर्छन्।
28म कालो भएको छु, तर घामले होइन; म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।
29म त स्यालहरूको भाइ, उल्‍लुहरूको साथी भएको छु।
30मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ; मेरो शरीर ज्वरोले जलेको छ।
31मेरो वीणा शोकमा परिणत भएको छ, र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.