Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इयोबको पुस्तक 24

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
2मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।
3तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्,
4तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।
5मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
6तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
7लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।
8तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
9अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
10लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
11तिनीहरूले खेतका गराहरूमा जैतुन पेलेर तेल निकाल्छन्; तिनीहरूले कोलमा दाख पेलेर रस निकाल्छन्, तर आफैँ भने तिर्खाले व्याकुल भएका हुन्छन्।
12मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
13“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्।
14जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
15व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ।
16रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।
17तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
18“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
19गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।
20गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
21तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्।
22तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।
23उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।
24केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।
25“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.