Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इयोबको पुस्तक 22

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तब एलीपज तेमानीले जवाफ दिए:
2“के कुनै मानिस परमेश्‍वरको निम्ति लाभदायक हुन सक्छ र? के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र?
3यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
4“के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ?
5के तपाईंको दुष्‍टता ठूलो छैन र? के तपाईंका पापहरू नटुङ्गिने छैनन् र?
6तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ।
7तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो;
8यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली र त्यसैमा बस्‍ने एक सम्मानित मानिस हुनुहुन्थ्यो।
9तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो।
10त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, र अचानक खतराले तपाईंलाई तर्साउँछ,
11त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ।
12“के परमेश्‍वर स्वर्गका सर्वोच्‍चमा हुनुहुन्‍न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्!
13तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र?
14जब उहाँ आकाशमण्डलहरूमा यताउति हिँड्‍डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्‍न।’
15के तपाईं दुष्‍ट मानिसहरू हिँडेको त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ?
16तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; तिनीहरूका जगहरू बाढीद्वारा बगाइए।
17तिनीहरूले परमेश्‍वरलाई भने, ‘हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई सर्वशक्तिमान्‌ले के गर्न सक्नुहुन्छ र?’
18तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; यसकारण म दुष्‍ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु।
19धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्,
20‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’
21“परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ।
22उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्।
23यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने,
24र तपाईंको सुनहरू धुलोमा, तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने,
25तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्‍ट चाँदी हुनुहुनेछ।
26तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ।
27तपाईंले परमेश्‍वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्‍नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ।
28तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्।
29जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ।
30उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.