Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यूहन्‍नाद्वारा लेखिएको सुसमाचार 2

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
2येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
3दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
4येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
5उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
6यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
7येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।
9जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,
10र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
11येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
12यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो। येशूले मन्दिर शुद्ध गर्नुभएको
13यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।
14उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।
15तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।
16उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”
17उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”
18त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
20तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”
21तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।
22उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।
23अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे।
24तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो।
25उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.