Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यर्मियाको भविष्यवाणी 46

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1राष्ट्रहरूको बारेमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
2इजिप्टको सम्बन्धमा: यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको चौथो वर्षमा, बेबिलोनका राजा नबूकदनेसरद्वारा यूफ्रेटिस नदीको कर्कमीशमा पराजित भएका इजिप्टका राजा फारो नेकोका सेनाको विरुद्धमा आएको सन्देश यही हो:
3“तेरा ठूला र साना दुवै ढालहरू तयार गर्; अनि युद्ध गर्नका निम्ति मोर्चा बाँधेर अगि बढ्!
4घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्‌क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो!
5तर म के देख्दैछु? ती इजिप्टियन सेनाहरू त्रसित भएका छन्; तिनीहरू पछि हट्दैछन्; तिनीहरूका योद्धाहरू हारेका छन्। तिनीहरू पछाडि नहेरी हतार-हतार भाग्दैछन्; अनि त्यहाँ चारैतिर त्रास नै त्रास फैलिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।
6“चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खानेछन् र लड्नेछन्।
7“नील नदीजस्तै बढेर आउने, नदीहरूको बाढीझैँ उर्लेर आउने त्यो को हो?
8नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।”
9हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्‍न सिपालु लूदीमका मानिसहरू अगि बढ।
10तर त्यो दिन प्रभु, सेनाहरूका याहवेहको दिन हो। बदलाको दिन, उहाँको शत्रुहरूमाथि बदला लिने दिन हो। तरवार सन्तुष्‍ट नभएसम्म त्यसले नाश गर्नेछ; रगतले तिर्खा नमेटेसम्म त्यो चल्नेछ। किनकि सेनाहरूका याहवेहले उत्तरको देशलाई यूफ्रेटिस नदीको किनारमा बलिदान चढाउनुहुनेछ।
11“हे इजिप्टकी कन्या छोरी, माथि गिलादमा गएर मलम ली, तर तैँले व्यर्थैमा धेरै औषधीहरू प्रयोग गरिस्; तँ निको हुनेछैनस्।
12राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्‍नेछन्; तेरो रोदन पृथ्वीभरि सुनिनेछ। एउटा योद्धा अर्कोमाथि ठक्‍कर खानेछ; दुवै योद्धा एकसाथ जमिनमा लोट्नेछन्।”
13बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो:
14“यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्; यसलाई मेम्फिसमा र तहपनेसमा पनि घोषणा गर्: ‘आफ्नो सुरक्षाको निम्ति आ-आफ्ना स्थानमा तयार होओ; किनकि तेरा चारैतिर भएकाहरूलाई तरवारले नाश गर्नेछ।’
15तेरा योद्धाहरू किन सोत्तर हुनेछन्? तिनीहरू खडा हुन सक्दैनन्; किनकि याहवेहले तिनीहरूलाई जमिनमा ठेलिदिनुहुनेछ।
16तिनीहरू घरी-घरी ठक्‍कर खानेछन्; तिनीहरू एक-अर्कामाथि लड्नेछन्। तिनीहरूले भन्‍नेछन्, ‘उठ, हामी शत्रुहरूका तरवारदेखि टाढा आफ्नै मानिसहरूकहाँ र आफ्नो जन्मभूमिमा फर्केर जाऔँ।’
17त्यहाँ तिनीहरू चिच्याउनेछन्, ‘इजिप्टका राजा फारो चर्को आवाज मात्र हो; फारोले आफ्नो मौका गुमाएको छ।’
18“म जीवित भएझैँ,” राजाले यसरी घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो, पहाडहरूमध्ये उच्‍च तबोरजस्तै, समुद्रभन्दा उच्‍च कर्मेल पर्वतजस्तै एक जना शक्तिशाली आउनुहुनेछ।
19हे इजिप्टमा बस्‍ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्‍ने रुखो भग्नावशेष हुनेछ।
20“इजिप्ट एउटी सुन्दरी कोरली हो, तर त्यसको विरुद्धमा उत्तर दिशाबाट एउटा डाँस आउँदैछ।
21त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्।
22जब शत्रुहरू अगि बढ्दै आउँछन्, तब भाग्ने सर्पझैँ सुलुलु आवाज इजिप्टले निकाल्नेछ; तिनीहरू त्यसको विरुद्धमा रूख काट्ने मानिसहरूझैँ बन्चरो लिएर आउनेछन्।”
23याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्।
24इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।”
25सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु।
26म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
27“हे मेरो सेवक याकोब, तँ नडरा! हे इस्राएल निरुत्साहित नहो। म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट तेरा सन्तानहरूलाई तिनीहरूका बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा बस्‍नेछ; अनि कसैले पनि इस्राएललाई डर देखाउन सक्नेछैन।
28हे मेरो सेवक याकोब, तँ भयभीत नहो; किनकि म तँसँग छु,” याहवेह घोषणा गर्नुहुन्छ। “मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, मैले ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। म तँलाई न्यायपूर्वक ताडना दिनेछु; तर म तँलाई विनादण्ड छोड्छैनँ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.