Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यर्मियाको भविष्यवाणी 42

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू
2अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्‍नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ।
3याहवेह तपाईंका परमेश्‍वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।”
4यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्‍चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्‍वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्‍नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।”
5तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन्।
6याहवेह हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गर्नेछौँ।”
7अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
8यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए।
9यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ:
10‘यदि तिमीहरू यस देशमै रह्‍यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु।
11बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु।
12म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
13“तापनि यदि तिमीहरूले यसो भन्यो भने, ‘हामी यस देशमा बस्‍नेछैनौँ;’ अनि यसरी याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ भने,
14र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्‍नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्‍नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’
15त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्‍का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने,
16तब तिमीहरू डराएका ती तरवारले तिमीहरूलाई त्यस देशमा खेदेर भेट्टाउनेछ; अनि तिमीहरू डराएको अनिकालले तिमीहरूलाई इजिप्टसम्म पछ्याउनेछ, तब तिमीहरू त्यहीँ नै मर्नेछौ।
17निश्‍चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’
18सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्‍नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्‍नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’
19“हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्‍नुभएको छ। तिमीहरूले यो कुरा स्पष्‍टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु;
20किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्‍वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्‍नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ।
21उहाँले तिमीहरूलाई भन्‍नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा अझै पनि पालन गरेका छैनौ।
22यसकारण अब यो पक्‍का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.