Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यर्मियाको भविष्यवाणी 40

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए।
2जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो।
3अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्‍नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन।
4तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्‍न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।”
5अनि यर्मिया जान लाग्दा नबूजरदानले थपेर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ फर्केर जानुहोस्, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। अनि तिनीसँग मानिसहरूबीच तपाईं बस्‍न सक्नुहुन्छ, अथवा तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जान सक्नुहुन्छ।” तब सेनापतिले तिनलाई केही खानेकुराहरू र उपहार दिएर तिनलाई जान दिए।
6यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्‍न लागे। गदल्याहको हत्या
7बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने,
8तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
9शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्‍वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ।
10म आफैँचाहिँ हामीहरूकहाँ आउने बेबिलोनीहरूका अगाडि तिमीहरूको प्रतिनिधित्व गरेर मिस्पामा बस्‍नेछु, तर तिमीहरूले चाहिँ दाखमद्यको निम्ति कालो अङ्‌गुर, ग्रीष्म ऋतुका फलहरू र जैतुन तेलका कटनी गरेर आफ्ना भाँडाहरूमा भण्डारण गर, र तिमीहरूले कब्जा गरेका सहरहरूमा बस।”
11जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्‍ने कुरा सुने;
12तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्‌गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।
13त्यसपछि कारेहका छोरा योहानान र खुल्‍ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए;
14अनि तिनलाई भने, “के अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन् भन्‍ने कुरा तपाईंलाई थाहा छैन?” तर अहीकामका छोरा, गदल्याहले तिनीहरूको कुरामा विश्‍वास नै गरेनन्।
15तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्‍ट हुन किन दिने?”
16तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.