Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यर्मियाको भविष्यवाणी 21

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने:
2“बेबिलोनका राजा नबूकदनेसर हामीलाई आक्रमण गर्न आउँदैछन्; त्यसैले याहवेहसँग हाम्रा निम्ति सोधखोज गरिदिनुहोस्। सायद याहवेहले बितेका समयमा गरेझैँ, हाम्रा निम्ति अद्‌भुत कार्यहरू गर्नुहुनेछ, र नबूकदनेसर हामीबाट फिर्ता जानेछन्।”
3तर यर्मियाले तिनीहरूलाई जवाफ दिए, “सिदकियाहलाई भन,
4‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु।
5मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
6म यस सहरमा बस्‍नेहरू: के मानिसहरू, के पशुहरू दुवैलाई प्रहार गर्नेछु; अनि तिनीहरू भयानक रूढीले मर्नेछन्।
7त्यसपछि याहवेह घोषणा गर्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस सहरका सबै मानिसहरू, जो विपत्ति, तरवार र अनिकालबाट बाँच्नेछन्, म तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसर र तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिनेछु। शत्रुहरूले तिनीहरूलाई तरवारले मार्नेछन्। यी मानिसहरूले तिनीहरूलाई कुनै दया, माया र करुणा देखाउनेछैनन्।’
8“यी मानिसहरूलाई अझै भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूका निम्ति जीवनको बाटो र मृत्युको बाटो राख्दैछु।
9यस सहरमा बस्‍ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।
10मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’
11“यसबाहेक यहूदाको राजकीय घरानालाई यसो भन्, ‘याहवेहको वचन सुन!
12हे दावीदका घराना, याहवेह तिमीहरूलाई यसो भन्‍नुहुन्छ: “ ‘हरेक बिहान न्याय कायम गर; जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर्, नत्रता तैँले गरेको दुष्‍ट कामको कारण मेरो क्रोध आगोजस्तै दन्किनेछ; अनि त्यसलाई निभाउने कोही पनि हुनेछैन।
13हे यरूशलेम, म तेरो विरुद्धमा छु; तँ, जो यस बेँसीको उच्‍च चट्टानमा बस्छस्, याहवेह घोषणा गर्नुहुन्छ, तँ भन्छस् कि, “तेरो विरुद्धमा को आउनसक्छ र? हाम्रो शरणस्थानमा को प्रवेश गर्न सक्छ?”
14म तिमीहरूका कामहरूको फलअनुसार तिमीहरूलाई दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। म तिमीहरूका जङ्गलहरूमा आगो लगाइदिनेछु, जसले तिमीहरूका चारैतिरका सबै थोकलाई भस्म पारिदिनेछ।’ ”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.