Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

न्यायकर्ताहरूको पुस्तक 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?”
2अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।”
3यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए।
4यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे।
5तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो।
6अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।
7तब अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरूले मेरो टेबुलमुनि जुठोका टुक्राटाक्री टिप्थे। अब परमेश्‍वरले मलाई तिनीहरूलाई मैले गरेझैँ बदला लिनुभएको छ।” तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, र तिनी त्यहीँ मरे।
8यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।
9त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्‍चिमी फेदीमा बस्‍ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए।
10तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्‍ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे।
11त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा अगि बढे।
12अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
13कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
14एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
15तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
16मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
17तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्‍ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्‍ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।
18यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।
19याहवेह यहूदाका मानिसहरूसित हुनुहुन्थ्यो। तिनीहरूले पहाडी मुलुकमाथि अधिकार गरे, तर तिनीहरू मैदानबाट मानिसहरूलाई धपाउन असमर्थ भए। किनकि तिनीहरूसित फलामका रथहरू थिए।
20मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।
21तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्।
22अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो।
23जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए,
24तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्‍ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।”
25यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।
26त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ।
27तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्‍ने निश्‍चय गरेका थिए।
28इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्।
29न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे।
30न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्‍ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
31न त आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्‍नेहरूलाई धपाए।
32यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।
33न त नप्‍तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्‍नेहरूलाई नै धपाए; तर नप्‍तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्‍नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए।
34एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्।
35अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्‍ने निश्‍चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए।
36एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.