Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यशैयाको भविष्यवाणी 64

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!
2आगोले झारपात जलाएझैँ र पानी उमालेझैँ, तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्!
3किनकि जब तपाईंले हामीले नचिताएका अद्‌भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे।
4प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्‍वरको बारेमा कसैले सुनेका छैनन्; कुनै कानले सुनेको छैन, कुनै आँखाले देखेको छैन; तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।
5जसले खुशीसाथ ठिक काम गर्छन्, जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्‍यौँ, तब तपाईं हामीसित रिसाउनुभयो। अब हामी कसरी बचाइन सक्छौँ?
6हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्।
7कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।
8तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ।
9हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्; हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्। बिन्ती छ, हामीतिर हेर्नुहोस्; किनकि हामी सबै तपाईंका प्रजा हौँ।
10तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ।
11हाम्रा पवित्र र महिमित मन्दिर, जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, त्यो ठाउँ आगोले जलाइएको छ; अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्।
12यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्‍ट दिनुहुन्छ?
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.