Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यशैयाको भविष्यवाणी 33

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1धिक्‍कार तँ नाशकर्तालाई, जो नष्‍ट पारिएको छैनस्! धिक्‍कार तँ विश्‍वासघातीलाई, जसले धोका पाएको छैनस्! जब तैँले नष्‍ट गर्न छोड्छस्, तब तँ नष्‍ट पारिनेछस्; जब तैँले विश्‍वासघात गर्न छोड्छस्, तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्।
2हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्।
3तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।
4हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्।
5याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।
6उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।
7हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।
8राजमार्गहरू त्यागिएका छन्; बाटोमा कुनै यात्री छैन। सन्धि तोडिएको छ; त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; कसैको आदर छैन।
9देशले विलाप गर्छ र चिन्तामा छ; लेबनान लज्जित भएर ओइलाउँछ; शारोन अराबाझैँ छ, बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
10“अब म उठ्नेछु” याहवेह भन्‍नुहुन्छ। “अब म उच्‍च पारिनेछु; अब म उचालिनेछु।
11तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराल जन्माउँछौ; तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो।
12मानिसहरू चून जलेझैँ जल्नेछन्; काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।”
13हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन! तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर!
14सियोनमा भएका पापीहरू आतङ्कित छन्; भक्तिहीनलाई कम्पनले समातेको छ; “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्‍न सक्ला? हामीमध्ये को अनन्तको जलनसित बस्‍न सक्ला?”
15त्यही मानिस, जो धार्मिकतामा चल्छ, र जे ठिक छ, त्यही बोल्छ; जसले लुटको लाभलाई इन्कार गर्छ, र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, र आफ्ना आँखा दुष्‍टता हेर्नबाट बन्द गर्छ;
16यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन।
17तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, र टाढासम्म फैलिएको देशलाई देख्नेछ।
18तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: “त्यो प्रमुख अधिकृत कहाँ छ? कर असुल गर्ने खोइ? धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?”
19तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्; ती अस्पष्‍ट बोली भएका मानिसहरूलाई, जसको बोली बुझिँदैन।
20हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; न त त्यसका कुनै डोरी चुँडाइनेछ।
21त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्‍वर हुनुहुनेछ। त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।
22किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
23तेरा डोरीहरू खुकुला भएका छन्: मस्तुल सुरक्षित राखिएको छैन, पाल फिँजिएको छैन। तब लुटका प्रशस्त माल बाँडिनेछ, र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्।
24सियोनमा बस्‍ने कसैले पनि, “म बिरामी छु” भन्‍नेछैन; अनि त्यहाँ बस्‍नेहरू सबैका पाप क्षमा गरिनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.