Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

होशेको भविष्यवाणी 13

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे; त्यो इस्राएलमा उच्‍च पारियो। तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्‍यो।
2अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्; तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्, अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू, ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्। यी मानिसहरूको विषयमा यसो भनिएको छ, “तिनीहरूले मानवबलि चढाउँछन्! अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।”
3यसकारण तिनीहरू बिहानको कुइरोझैँ, बिहान सबेरै बिलाउने तुसारोझैँ, खलाबाट उडिजाने भुसझैँ, चिम्नीबाट निस्केको धुवाँझैँ हुनेछन्।
4“तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै, म याहवेह तिमीहरूका परमेश्‍वर हुँ; अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्‍वर भनी स्वीकार नगर्नू, मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
5मैले तिमीहरूलाई उजाडस्थानमा चर्को गर्मीको ठाउँमा हेरचाह गरेँ।
6जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्‍ट भए; तर जब तिनीहरू सन्तुष्‍ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए; अनि तिनीहरूले मलाई बिर्से।
7यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु; म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्‍नेछु।
8आफ्नो बच्‍चा खोसिएकी भालुजस्तै, म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु; बाघले जस्तै म तिनीहरूलाई निल्नेछु, जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु।
9“हे इस्राएल, तँ सर्वनाश भएको छस्; किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्।
10तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्? जसको बारेमा तिमीहरूले भन्थ्यौ, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’
11यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ; अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ।
12एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ; त्यसका पापहरूको हिसाब राखिएको छ।
13स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ, तर त्यो त बुद्धिविनाको बालक हो; जन्मने समय हुँदा पनि त्यसमा गर्भको मुखबाट बाहिर आउने समझ त्यसमा हुँदैन।”
14म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? हे चिहान, तेरो विनाश कहाँ छ? “म अलिकति पनि दया देखाउनेछैनँ;
15यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि म त्यसप्रति दयालु बन्‍नेछैनँ। पूर्वीय बतास याहवेहबाट आउनेछ, र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ; त्यसको पानीको मूल बन्द हुनेछ, र त्यसको पानीको कुवा सुक्नेछ। त्यसको भण्डारबाट त्यसका सबै बहुमूल्य कुराहरू लुटिनेछन्।
16सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू तरवारद्वारा मारिनेछन्; तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.