Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

होशेको भविष्यवाणी 10

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो; त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो। जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो, तब त्यसले धेरै वेदीहरू बनायो; जब त्यसको देशको समृद्धि भयो, तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो।
2तिनीहरूको हृदय छली छ; अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ। याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ; अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्‍ट पार्नुहुनेछ।
3तब तिनीहरूले भन्‍नेछन्, “हामीले याहवेहलाई आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्। तर यदि हामीसित राजा भए तापनि तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”
4तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्, झूटो शपथ खान्छन् र सहमति जनाउँछन्; त्यसैले जोतिएको जमिनमा उम्रेका विषालु झारहरूझैँ अन्याय मौलाउँछ।
5सामरियामा बसोबास गर्ने मानिसहरू बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्। र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्; तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए; त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्; किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।
6त्यसलाई महान् राजाको निम्ति सौगातको रूपमा अश्शूर देशमा लगिनेछ। एफ्राइम अपमानित हुनेछ; इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।
7सामरियाको राजा नष्‍ट हुनेछ, त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।
8दुष्‍टताका अग्ला-अग्ला डाँडाहरू नष्‍ट पारिनेछन्; यो इस्राएलको पाप हो। काँडा र सिउँडीहरू बढ्नेछन्, र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्। त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!”
9“हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ, र तिमीहरू त्यही पापमा छौ। के गेबामा भएका दुष्‍ट काम गर्ने मानिसहरू फेरि युद्धमा पर्दैनन् र?
10म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु; तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।
11एफ्राइम दाइँ गर्न रुचाउने तालिमद्वारा सधाइएकी कोरली हो; यसकारण म त्यसको सुन्दर काँधमाथि गह्रौँ जुवा हालिदिनेछु। म एफ्राइमलाई धपाउनेछु, यहूदाले चाहिँ जोत्नुपर्छ र याकोबले जमिन फुटाउनुपर्नेछ।
12आफ्नो निम्ति धार्मिकताको बिउ छर! अचुक प्रेमको फसलको कटनी गर! र तिमीहरूका नजोतिएका जमिनलाई जोत; किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; अनि उहाँ आउनुहुन्छ र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
13तर तिमीहरूले दुष्‍टता रोपेका छौ, र तिमीहरूले पापको कटनी गरेका छौ; तिमीहरूले छलको फल खाएका छौ। अनि तिमीहरूले आफ्नै सामर्थ्य र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
14तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्; युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै बलिया किल्‍लाहरू नष्‍ट हुनेछन्; जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।
15हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ; किनकि तेरो दुष्‍टता धेरै छ। त्यो दिन आएपछि, इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.