Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

हबकूकको भविष्यवाणी 3

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।
2हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!
3परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।
4उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो।
5उहाँको अगाडि महामारी फैलिँदै गयो; उहाँको पछि-पछि रूढी लाग्यो।
6उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।
7मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।
8हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?
9तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;
10तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे।
11वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए।
12क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।
13तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।
14जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो।
15तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।
16मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।
17चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्।
18तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।
19प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.