Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

उत्पत्तिको पुस्तक 40

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे।
2फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए।
3अनि तिनीहरूलाई अङ्गरक्षकका सेनापतिको घरमा थुनामा राखिदिए, जहाँ योसेफ पनि थुनामा परेका थिए।
4अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि,
5ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
6भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे।
7यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?”
8तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्‍वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्‍नुहोस्।”
9यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ,
10अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए।
11फारोको कचौरा मेरो हातमा थियो, मैले दाखहरू लिएँ, र ती दाखहरूलाई फारोको कचौराभित्र निचोरिदिएँ; अनि त्यो कचौरा तिनको हातमा टक्र्याइदिएँ।”
12योसेफले उनलाई भने, “यसको अर्थ यही हो, तीन हाँगाहरू तीन दिन हुन्।
13तीन दिनभित्र फारोले तपाईंलाई उच्‍च पार्नुहुनेछ, र तपाईंलाई तपाईंको पहिलेकै काममा नियुक्त गर्नुहुनेछ; अनि तपाईं तिनको मद्य टक्र्याउने हुँदा जे गर्नुहुन्थ्यो, त्यसरी नै तपाईंले फारोको कचौरा उहाँको हातमा टक्र्याउनुहुनेछ।
14तर जब तपाईंसँग सबै कुरा सही हुन्छ, मलाई सम्झनुहोला, र ममाथि दया देखाउनुहोला; फारोलाई मेरो विषयमा भनिदिनुहोस्, र मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्।
15किनकि मलाई हिब्रूहरूको देशबाट बलपूर्वक ल्याइएको हो; अनि यहाँ पनि मैले झ्यालखानामा हालिने कुनै काम गरेको छैनँ।”
16जब योसेफले मुख्य मद्य टक्र्याउनेको सपनाको अर्थ राम्रो खोलिदिएको मुख्य भान्सेले देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेँ: मेरो शिरमा रोटीले भरिएका तीन टोकरीहरू थिए।
17माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।”
18“यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्।
19तीन दिनभित्र फारोले तपाईंको शिर काट्नुहुनेछ, र तपाईंको शरीरलाई एउटा रूखमा झुण्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईंको शरीरलाई खानेछन्।”
20अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे:
21फारोले मुख्य मद्य टक्र्याउनेलाई पहिलेकै काममा नियुक्त गरे। अनि उनले फेरि फारोको हातमा कचौरा टक्र्याए;
22तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए।
23तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.