Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इजकिएलको भविष्यवाणी 25

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहको वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्।
3तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,
4यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।
5म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
6किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।
7यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ” मोआबको विरुद्धमा अगमवाणी
8“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”
9यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु।
10अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;
11अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” एदोमको विरुद्धमा अगमवाणी
12“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो।
13यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।
14म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ” पलिश्तीहरूको विरुद्धमा अगमवाणी
15“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।
16यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।
17म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.