Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

दानिएलको भविष्यवाणी 5

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।
2जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।
3यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
4जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
5त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे।
6अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्‍किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए।
7राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्‍याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जामा राखिनेछ।”
8तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्‍न सकेनन्।
9यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्‍क परे।
10राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
11हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्‍टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो।
12उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
13यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्‍ने तिमी नै हौ?
14मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्‍टि, समझशक्ति र असाधारण बुद्धि छ।
15यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
16अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जा दिइनेछ।”
17तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
18“हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।
19परमेश्‍वरले तिनलाई दिनुभएको उच्‍च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्‍नति गरिदिन चाहेकाहरूलाई पदोन्‍नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।
20तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो।
21तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्‍च परमेश्‍वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
22“तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।
23त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।
24यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
25“खोपिएको लेखोट यही हो: मेने, मेने, टेकेल, पर्सिन
26“यी शब्दहरूको अर्थ यही हो: “मेने: परमेश्‍वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।
27“तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ।
28“पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”
29तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्‍याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो।
30त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए;
31अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.