Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

दानिएलको भविष्यवाणी 10

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए।
2त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ।
3मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्‍ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।
4पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ;
5मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए।
6तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।
7म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके।
8यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ।
9तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ।
10तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए।
11तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्‍न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ।
12तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्‍वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ।
13तर परसीया देशको राजकुमारले मलाई एक्‍काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ।
14अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।”
15जब तिनले मलाई यसो भनिरहेका थिए, तब मैले आफ्नो अनुहार भुइँतिर निहुराएँ, र केही बोल्न सकिनँ।
16तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु।
17मेरो प्रभु, म तपाईंको सेवकले तपाईंसँग कसरी कुरा गर्न सक्छु? मेरो कुनै बल छँदैछैन; मलाई सास फेर्न पनि मुश्किल परेको छ।”
18फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे।
19अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।”
20यसकारण तिनले भने, “के तिमी जान्दछौ, म तिमीकहाँ किन आएको हुँ? म चाँडै परसीयाको राजकुमारको विरुद्धमा लडाइँ गर्न फर्कनेछु; अनि जब म जान्छु, ग्रीसको शासक आउनेछ;
21तर पहिले म तिमीलाई सत्यको पुस्तकमा के लेखिएको छ, सो भन्‍नेछु। (मलाई तिनीहरूका विरुद्धमा लड्नलाई तिम्रा राजकुमार मिखाएलबाहेक कसैले साथ दिँदैनन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.