Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

प्रेरितहरूका काम 7

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?”
2यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्‍नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्‍वरले उनको सामु आएर भन्‍नुभयो,
3‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’
4“त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्‍न थाले। उनका पिताको मृत्युपछि परमेश्‍वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
5परमेश्‍वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्‍वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो।
6परमेश्‍वरले उनीसँग यसरी भन्‍नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’
7परमेश्‍वरले भन्‍नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’
8अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए।
9“योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्‍वर तिनको पक्षमा हुनुहुन्थ्यो।
10अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए।
11“त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्‍यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्‍ट भयो। हाम्रा पुर्खाहरूले अन्‍न व्यवस्था गर्न सकेनन्।
12जब इजिप्टमा अन्‍न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलोपल्ट त्यहाँ पठाए।
13तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।
14यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए।
15अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो।
16तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
17“अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।
18तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
19राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्।
20“त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो।
21जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्।
22मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए।
23“जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे।
24यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए।
25तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्।
26भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे।
27“तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?
28के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’
29यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।
30“चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे।
31जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने:
32‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
33“त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।
34इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’
35“यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।
36इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए।
37“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’
38मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए।
39“तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे।
40तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’
41त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए।
42तब परमेश्‍वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
43मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
44“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्‍वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो।
45त्यो पाल प्राप्‍त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्‍वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्‍यो।
46दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।
47तर यो वासस्थानचाहिँ सोलोमनले बनाए।
48“तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
49“ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्‍वर भन्‍नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
50के मेरै हातले यी सबै थोक बनाएको होइन र?’
51“हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
52के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्‍वासघात गर्नुभयो र मार्नुभयो।
53स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्‍त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।” ढुङ्गा प्रहारद्वारा स्तिफनसको हत्या
54जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले।
55तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे।
56अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्‍वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।”
57यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्‍च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे।
58अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे।
59जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!”
60त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.