Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

प्रेरितहरूका काम 5

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
2आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
3त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
4बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्‍त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्‍न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका छौ।”
5यो कुरा सुन्‍नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्‍ने सबैको मनमा ठूलो डर पस्यो।
6अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
7करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
8पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्‍त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।”
9पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
10त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
11सारा मण्डलीमाथि र यी घटनाहरू सुन्‍ने सबैमाथि ठूलो डर उत्पन्‍न भयो। प्रेरितहरूद्वारा धेरैको रोग निको पारिएको
12मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
13तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
14तर पनि परमेश्‍वरमा विश्‍वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्‍यो।
15यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
16अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए। प्रेरितहरूमाथि सतावट
17प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
18अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
19तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
20अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
21तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
22तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
23“हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
24मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
25त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो।
27प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो।
28प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
29पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञाको पालन गर्नैपर्छ!
30हाम्रा पुर्खाहरूका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
31इस्राएलले पश्‍चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्‍वरले आफ्नो दाहिने हातपट्टि उच्‍च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
32हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
33यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
34तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
35त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
36किनकि केही समयअगि थूदास भन्‍ने एक जना मानिस देखा पर्‍यो, जसले आफू कोही हुँ भन्‍ने दाबी गर्‍यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
37त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
38त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्‍लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
39तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
40तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
41येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
42येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.