Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

तिमोथीलाई पावलको दोस्रो पत्र 3

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्।
2मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र,
3प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
4विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
5भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
6यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
7यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्।
8जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्।
9तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्। तिमोथीलाई पावलको आदेश
10तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता,
11सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
12वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
13तर दुष्‍ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।
14तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
15तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ।
16सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
17जसद्वारा परमेश्‍वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.