Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

शमूएलको दोस्रो पुस्तक 3

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
2हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए;
3माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए;
4काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए;
5अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए। अबनेर दावीदको पक्षमा गएका
6शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए।
7शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”
8ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्‍ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ!
9यदि मैले दावीदसँग परमेश्‍वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने,
10याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।”
11ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्‍ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए।
12त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”
13दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”
14तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”
15यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।
16तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए।
17अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो।
18अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ”
19अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए।
20जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे।
21अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए। योआबले अबनेरको हत्या गरेका
22त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए।
23जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो।
24यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्!
25तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।”
26तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन।
27जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे।
28पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ।
29योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!”
30(योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।)
31तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे।
32तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए।
33राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र?
34तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए।
35तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!”
36सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो।
37यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे।
38तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ?
39आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.