Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

शमूएलको दोस्रो पुस्तक 11

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे।
2एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्।
3दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।”
4तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्।
5तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्।
6तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए।
7जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे।
8त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो।
9तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्।
10जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?”
11उरियाहले दावीदलाई भने, “सन्दुक र इस्राएल अनि यहूदाका सबै मानिसहरू पालमा बसिरहेका छन्। अनि मेरा मालिक योआब र मेरा स्वामीका मानिसहरू खुल्‍ला मैदानमा रहेका छन्। मचाहिँ कसरी आफ्नो घरमा खानपिन गरी आफ्नो पत्नीसित सुत्नलाई जाऊँ? राजालाई साक्षी राखेर म भन्दछु, म यस्तो काम गर्नेछैनँ!”
12तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे।
13दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्।
14भोलिपल्ट बिहान दावीदले योआबलाई एउटा पत्र लेखे, र त्यो उरियाहको हातमा पठाए।
15त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्‌क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।”
16यसकारण योआबले सहरलाई घेरा हालेको बेला तिनले जानेअनुसार बलिया शत्रुहरू भएको ठाउँमा उरियाहलाई खटाए।
17जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए।
18योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए।
19तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्,
20तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’
21यरूब-बेशेतको छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एउटी स्त्रीले पर्खालबाट जाँतोको माथिल्‍लो भाग तिनीमाथि खसाइदिएको कारण तिनी तेबेसमा मरेका होइनन् र? तिमीहरू पर्खालको यति नजिक किन गयौ?” यदि उहाँले तँलाई यसरी सोध्नुभयो भने, तब उहाँलाई भन्‍नू, “हजुरको सेवक हित्ती उरियाह पनि मारिए।”
22त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्‍न पठाएका थिए, ती हरेक कुरा बताइदियो।
23त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ।
24तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।”
25दावीदले त्यस दूतलाई भने, “योआबलाई यसरी भन्‍नू: ‘यस कुराले तिमीलाई निराश नपारोस्; किनकि तरवारले एउटालाई नाश गरेजस्तै अर्कोलाई पनि नाश गर्छ। त्यस सहरको विरुद्धमा युद्ध जारी राखेर त्यसलाई नष्‍ट गरिदेओ।’ यो कुरा योआबलाई उत्साहित पार्नलाई भन्।”
26जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्।
27जब तिनको शोकको समय समाप्‍त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्‍न तुल्यायो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.