Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

राजाहरूको दोस्रो पुस्तक 22

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्।
2तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा पूर्ण रूपमा हिँडे।
3आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने,
4“प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू।
5मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू—
6अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्‍न लगाऊनू।
7तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।”
8प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे।
9तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।”
10त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।”
11राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते।
12तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए:
13“जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।”
14पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्‍लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्।
15तिनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
16‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु।
17तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’
18याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
19तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
20यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” तब तिनको यही जवाफ तिनीहरूले राजाकहाँ लगे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.