Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

राजाहरूको दोस्रो पुस्तक 2

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1याहवेहले एलियालाई आँधीबेहरीमा उठाइलैजान अगि एलिया र एलीशा गिलगालबाट आइरहेका थिए।
2एलियाले एलीशालाई भने, “यहीँ बस; याहवेहले मलाई बेथेलमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू बेथेलमा झरे।
3बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
4तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए।
5यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”
6तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे।
7पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए।
8एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए।
9तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “मलाई भन, तिमीबाट लगिनुभन्दा अगि म तिम्रा निम्ति के गरिदिऊँ?” एलीशाले जवाफ दिए, “म तपाईंको आत्माको दोबर भाग प्राप्‍त गर्न सकूँ।”
10एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।”
11तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए।
12एलीशाले यो देखे, र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” त्यसपछि एलीशाले तिनलाई फेरि कहिल्यै देखेनन्। तब तिनले आफ्नो वस्त्र समाते, र त्यसलाई दुई भाग गरेर च्याते।
13तिनले एलियाबाट खसेको खास्टो उठाए; र फर्केर यर्दनको किनारमा उभिए।
14तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए।
15त्यो दृष्य हेरिरहेका यरीहोका अगमवक्ताहरूका दलले भने, “एलियाको आत्मा एलिशामाथि आएछ।” अनि तिनीहरू एलीशालाई भेट्न गए, र तिनको सामु भुइँसम्म निहुरेर अभिवादन गरे।
16तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका सेवकहरूसँग पचास जना बलिया मानिसहरू छन्। तिनीहरूलाई तपाईंका मालिकलाई खोज्न जान दिनुहोस्। सायद याहवेहको आत्माले तिनलाई उठाएर लैजानुभयो, र कुनै पहाड अथवा बेँसीमा राखिदिनुभएको छ कि।” एलीशाले भने, “होइन, तिनीहरूलाई नपठाओ।”
17तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्।
18जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?” पानीलाई शुद्ध पारिएको
19त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।”
20तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए।
21तब तिनी पानीको मूलमा गए; र त्यसमा नुन हालेर यसो भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले यस पानीलाई शुद्ध पारेको छु। यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, र जमिन रुखो बनाउनेछैन।’ ”
22यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ। एलीशालाई गिल्‍ला गरिएको
23त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्‍ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!”
24तब तिनले फनक्‍क फर्केर तिनीहरूतिर हेरे। अनि तिनले याहवेहको नाममा तिनीहरूलाई सरापे। तब जङ्गलबाट दुई वटा माउ भालु निस्के। अनि ती केटाहरूमध्ये बयालीस जना केटाहरूलाई चिथोरेर मारे।
25अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.