Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

राजाहरूको दोस्रो पुस्तक 14

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1इस्राएलका राजा योआहाजका छोरा येहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले शासन गर्न थाले।
2तिनी पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्।
3तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे; तर तिनले आफ्ना पुर्खा दावीदले जस्तै गरेनन्। तिनले प्रत्येक कुरामा आफ्ना पिता योआशको अनुसरण गरे।
4तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे।
5सम्पूर्ण रूपले आफ्नो मुट्ठीमा राज्य आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए।
6तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले ती हत्याराहरूका सन्तानलाई मारेनन्।
7उनैले नुनको बेँसीमा दश हजार एदोमीहरूलाई मारेका थिए। लडाइँमा सेलालाई कब्जा गरेका थिए; र त्यसलाई योक्तेल नाम दिएका थिए, जुन आजसम्म नै छँदैछ।
8तब अमस्याहले इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा येहोआशकहाँ दूतहरूद्वारा यसो भनेर युद्धको चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
9तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो।
10तिमीले साँच्‍चै एदोमलाई जित्यौ र अब तिमी अहङ्कारी भएका छौ। आफ्नो विजयमा घरमै बसेर आनन्द मनाऊ! किन समस्या खडा गरेर आफ्नै र यहूदाको पनि पतन खोज्छौ?”
11तरै पनि अमस्याहले सुनेनन्। यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे।
12यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए।
13इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआश यरूशलेममा गएर यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
14तिनले याहवेहको मन्दिरमा र राजमहलको भण्डारहरूमा भेट्टाइएका सबै सुन, चाँदी र अरू सबै चीजहरू लगे। तिनी कैदीहरू र ती सबै सामानहरू लिएर सामरियामा फर्के।
15येहोआशका शासनकालका अरू घटनाहरू, तिनका सबै काम र तिनका उपलब्धीहरू अनि यहूदाका राजा अमस्याहको विरुद्धमा लडेको युद्धको विषयमा, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
16येहोआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र इस्राएलका राजाहरूसित सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यारोबाम राजा भए।
17यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।
18अमस्याहको शासनका अरू घटनाहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
19यरूशलेमका मानिसहरूले अमस्याहको विरुद्धमा षड्यन्त्र गरे; र तिनी भागेर लाकीशमा गए। तर तिनीहरूले तिनको पछि लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे।
20तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यरूशलेममा आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडियो।
21त्यसपछि यहूदाका सबै मानिसहरूले सोह्र वर्ष उमेरका अजर्याहलाई लिएर तिनलाई आफ्ना पिता अमस्याहको स्थानमा राजा बनाए।
22तिनी उही थिए, जसले अमस्याह आफ्ना पुर्खाहरूसित विश्राममा पसिसकेपछि एलातलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता दिए। यारोबाम द्वितीय इस्राएलका राजा भएका
23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए। तिनले एकचालीस वर्ष राज्य गरे।
24तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, र नबातका छोरा यारोबामका कुनै पनि पापबाट पछि हटेनन्, जुन तिनले इस्राएललाई गर्न लगाएका थिए।
25तिनले नै अमित्तैका छोरा, गात-हेपेरबाटका याहवेहको सेवक अगमवक्ता योनाद्वारा याहवेह इस्राएलका परमेश्‍वर बोल्नुभएको वचनअनुसार लेबो-हमातदेखि मृत सागरसम्म यरूशलेमको सिमानाहरू फिर्ता गराएका थिए।
26याहवेहले इस्राएलका कमारा होस् कि फुक्‍का, प्रत्येकले कष्‍ट भोगिरहेको देख्नुभएको थियो। तिनीहरूलाई सहायता दिने कोही थिएन।
27इस्राएलको नाम स्वर्गमुनिबाट मेटिदिनेछु भनी याहवेहले नभन्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई योआशका छोरा यारोबामद्वारा बचाउनुभयो।
28यारोबामको शासनका अरू घटनाहरू, तिनले गरेका सबै काम, र तिनका सैन्य उपलब्धीहरू र कसरी तिनले यहूदाको हातमा परेको दमस्कस र हमात दुवैलाई इस्राएलको हातमा परेका विषयहरूचाहिँ, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
29यारोबाम आफ्ना पुर्खा इस्राएलका राजाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा जकरिया राजा भए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.