Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इतिहासको दोस्रो पुस्तक 7

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्‍यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो।
2पुजारीहरू याहवेहको मन्दिरभित्र पस्‍न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो।
3जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
4त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए।
5राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्‍वरको मन्दिरलाई समर्पण गरे।
6पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे।
7सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोको भाग अटाएनन्।
8यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले।
9आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए।
10सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए। याहवेह सोलोमनकहाँ देखा पर्नुभएको
11सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए।
12तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
13“मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा,
14यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्‍ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
15अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्‍ला र कान सतर्क रहनेछन्।
16मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।
17“तेरो विषयमा चाहिँ, यदि तँ आफ्ना पिता दावीदझैँ मेरो सामु हिँडिस्, र मैले दिएका सबै आज्ञापालन गरिस् भने,
18तेरा पिता दावीदसित ‘इस्राएलमाथि शासन गर्न तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले गरेको करारअनुसार म तेरो राजकीय सिंहासन स्थापित गर्नेछु।
19“तर यदि तँ त्यसबाट तर्किएर मैले तँलाई दिएका उर्दीहरू त्यागेर अरू देवताहरूको सेवा गरिस्, र तिनीहरूलाई पुज्न थालिस् भने,
20मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई उखेलिदिनेछु; र मैले आफ्नो नामका निम्ति पवित्र गरेको यस जातिहरूको बीचमा एउटा घृणा र गिल्‍लाको पात्र बनाइदिनेछु।
21अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट भएर जाने सबैले भयभीत भएर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यस्तो गर्नुभएको होला?’
22तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.