Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

शमूएलको पहिलो पुस्तक 6

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्‍यो,
2तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्‍नुहोस्!”
3तिनीहरूले जवाफ दिए, “यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्‍नेछौ।”
4पलिश्तीहरूले सोधे, “हामी उहाँलाई कस्तो किसिमको दोषबलि पठाऔँ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूका शासकहरूको संख्याअनुसार सुनबाट बनेका पाँच वटा गिर्खा र सुनबाट बनेका पाँच वटा मुसा पठाउनू; किनकि यही रूढीले तिमीहरू र तिमीहरूका शासकहरूलाई प्रहार गरेको थियो।
5देशलाई नष्‍ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।”
6तिमीहरू किन इजिप्टियनहरू र फारोले गरेझैँ आफ्नो हृदय कठोर पार्छौ? उहाँले तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदा के तिनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो लागून् भनेर जान दिएनन् र?
7अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख।
8याहवेहको सन्दुकलाई लगेर गाडामा राख, र त्यसको छेउमा एउटा कन्तुरमा तिमीहरूले उहाँलाई दोषबलिको रूपमा पठाउन लागेका ती सुनका सामग्रीहरू राख। अनि गाडालाई आफ्नो बाटो लगाइदेओ।
9तर गाडामाथि नजर लगाइराख। यदि त्यो बेथ-शेमेशतिर, त्यसको आफ्नै इलाकातिर गयो भने यो विपत्ति हामीमाथि याहवेहले नै ल्याउनुभएको हो। तर यदि त्यो त्यतातिर गएन भने हामीलाई उहाँको हातले प्रहार गर्नुभएको होइन; तर हामीमाथि त्यो घटना संयोगवश भएको हो भनी हामी जान्‍नेछौँ।
10यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे।
11तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे।
12तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।
13अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए।
14त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए।
15लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।
16पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए।
17पलिश्तीहरूले दोषबलिको रूपमा याहवेहलाई पठाएका सुनका गिर्खाहरू यिनै शासकहरूका निम्ति थिए; अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन यी हरेकका निम्ति एक-एक वटा थिए।
18अनि सुनका मुसाहरूको संख्याचाहिँ ती पाँच जना शासकहरूका बलियो किल्‍ला भएका सहरहरू र त्यसका गाउँहरूको संख्याअनुसारका थिए। त्यो ठूलो चट्टान, जहाँ तिनीहरूले याहवेहको सन्दुक राखेका थिए, त्यो आजको दिनसम्मै बेथ-शेमेसको यहोशूको खेतमा साक्षीको रूपमा छँदैछ।
19तर परमेश्‍वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे।
20अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्‍वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?”
21तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.